दशैँ सुरु, के-के गरिन्छ नवरात्रीभर (ज्योतिषिय टिप्स)



प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन आइतबार घरघरमा जमरा राखिँदै छ। दसैंको पहिलो दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ।

दसैंको पहिलो दिन नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ। माटाको घट ९कलश० स्थापना गरी गोबर टाँसेर जौ रोप्नुलाई जमरा राख्ने भनिन्छ । पाणिनी संस्कृत विद्यालयका पण्डित राजेन्द्र आचार्य जौको अंकुर दुर्गाभवानीको प्रिय वस्तु भएकाले घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन दुर्गालाई चढाएर टीकासँगै ग्रहण गर्ने चलन रहेको बताउँछन्।

यस दिन पवित्र ठाउँ पूजाकोठा वा देवीघरमा आसन ओच्छ्याई दियो, कलश र गणेशको पूजा गर्ने शास्त्रीय पद्धति रहेको छ। त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गरिन्छ।

यस दिन ‘शैलपुत्री’ स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा। देवमणि भट्टराईको भनाइ छ । उनका अनुसार शैलपुत्रीको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गर्ने परम्परा छ। घटस्थापनाको शुभ साइत १० बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले बताएको छ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ।

दोस्रो दिन

यस दिन पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘ब्रह्मचारिणी’स्वरूपा दुर्गा भवानीको पूजा गरिन्छ। जमराको पूजा गरी जल सिञ्चन गर्ने क्रम नवरात्रभर रहन्छ। ब्रह्माको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभूषण धारण गरेकी हुनाले ब्रह्मचारिणीको पूजाआराधना गरिएको मान्यता छ। उनले हिमालय कन्याको रूपमा जन्मिएर भगवान् शिवलाई पति पाऊँ भनी तपस्या गरेकी थिइन्।

ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवन सुखी रहने बताइन्छ। उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ। यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा कुमारीपूजा गर्ने चलन छ। ब्रह्मचारिणीलाई विशेष रूपमा काँगियो, धागो र चोलाको कपडा चढाउनुपर्ने मान्यता छ।

तेस्रो दिन

यस दिन ‘चन्द्रघण्टा’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो। चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ। यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ।

चौथो दिन

यस दिन ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। देवी भागवतका अनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी थिइन्, तसर्थ उनलाई साक्षात् आदिशक्ति मानिन्छ। माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई आयु, यश र बलको वृद्धि हुने मान्यता रहेको छ। कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क ९मह र दही० चढाउने विधि छ।

पाँचौँ दिन

यस दिन ‘स्कन्दमाता’स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ। शिव–पार्वती पुत्र कुमारको अर्को नाम स्कन्द हो। तसर्थ, पौराणिक मान्यताअनुसार स्कन्द या कार्तिकेयकी माता स्कन्दमाता हुन्। स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छापूर्ति हुने मान्यता छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने विधि छ।

छैटौँ दिन

यस दिन ‘कात्यायनी’स्वरूपा नवदुर्गा भवानीको पूजाआराधना गरिन्छ। पौराणिक मान्यताअनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए। कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्ध भइन्। महिषासुर वध गरेकाले उनी महिषासुरमर्दिनी नामले पनि चिनिन्छिन्।

भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

फूलपाती (सातौं दिन)

यस दिन ‘कालरात्रि’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। शास्त्रमा देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङयुक्त डरलाग्दो स्वरूप भएकी, शिरको कपाल बिग्रिएको, गोला र ठूला त्रिनेत्र भएकी तथा मस्तकमा अर्धचन्द्र भएकी स्वरूपको उल्लेख गरिएको छ। उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारबाट आतंकित या भयभीत हुनुपर्दैन भन्ने मान्यता छ। कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ। यस दिन आठ वर्षकी कन्यालाई ‘शाम्भवी देवी’का नामले पूजा गरी विशेष रूपमा छाता र फूलमाला चढाउने परम्परा छ। यस दिन देवीघरमा फूलपाती भिœयाउने चलन छ।

‘रम्भाकच्चु हरिद्रा च जयन्ती विल्वदाडिमौ,
अशोकौ मानकश्चैव धान्यानि नवपत्रिका।’

अर्थात् केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशो र जयन्ती नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख छ। यो फूलपाती साइत हेरेर दशैँघरमा भित्र्याउने गरिन्छ।

महाअष्टमी  (आठौँ दिन)

यस दिन ‘महागौरी’स्वरूपा दुर्गाभवानीको पूजाआराधना गरिन्छ। महागौरी आठ वर्षको उमेरमै कठोर तपस्यामा लिन हँुदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगाजलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएकाले महागौरी भनी उनको नामकरण गरिएको शास्त्रमा उल्लेख छ। यस दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, किनकि सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा भद्रकाली प्रकट भएकी थिइन्।

तसर्थ, यसै दिन शक्तिस्वरूपा महागौरीसँगै भद्रकालीस्वरूपा देवीको पनि पूजा गर्ने चलन छ। यस दिन पूजापछि बलि दिने चलन छ। बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, अहंकार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो, तर त्यसलाई पशुबलिको रूपमा चलन चलाएको पाइन्छ। खसीबोका, राँगा, कुखुरा आदिको सट्टा कुभिन्डो, घिरौंला आदि फलफूललाई जनावरको स्वरूप बनाएर बलि दिनु उचित मानिन्छ।

रुद्रयामलमा ‘भगवतीको आस्था गरी पूजा गर्ने या सत्यको मार्गमा रहेका जुनसुकै जातजातिका मानिस ब्राह्मण हुन् र तिनले कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ। यस दिन नौ वर्षकी कन्यालाई ‘दुर्गादेवी’ नामले पूजा गर्ने चलन रहेको छ। त्यस्तै, देवीको वाहन सिंहलाई विधिवत पूजा गर्ने र सकेसम्म नौ प्रकारका हातहतियारको पनि पूजा गर्ने प्रचलन रहेको छ।

महानवमी (नवौं दिन)

यस दिन ‘सिद्धिदात्री’स्वरूपा दुर्गाको आराधना गरिन्छ। नामअनुसार सिद्धिदात्री देवीका सम्पूर्ण अंगहरू दिव्य कान्तियुक्त हुन्छन् भनिएको छ। नाना प्रकारका रत्नजडित अमूल्य आभूषण धारण गरेकी, चार हात भएकी, कमल तथा सिंहको आसनमा विराजमान देवीको पूजाआराधनाबाट सर्वसिद्धि प्राप्त हुने विश्वास रहेको छ। देवीभागवतका अनुसार, भगवान् शिवजीले उनकै कृपाले सम्पूर्ण सिद्धि प्राप्त गरेका थिए र अर्धनारीश्वर रूपमा शिवजी प्रसिद्ध भएका थिए। सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्प, नरिवल र गुलिया परिकार अधिक प्रिय भएकाले चढाउने गरिन्छ। सिद्धिदात्रीलाई वैज्ञानिक दृष्टिले प्रकाश शक्तिको स्वरूप मानिन्छ।

यस दिन नवरात्रको सुरुको दिनदेखि कन्यापूजा नगर्नेहरूले नौवटी कन्याको पूजा, विश्वकर्माको पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ। भगवान् बुद्ध वैशाख पूर्णिमाका दिन भौतिक रूपमा मत्र्यलोकमा अवतरित भए पनि यही महानवमीका दिन भगवान् विष्णु बुद्धको रूपमा अवतरित भएको शास्त्रीय मान्यता छ।

यसरी शास्त्रीय विधिले चण्डिकाको पूजाआराधना गरे शत्रुमाथि विजय गर्नुका साथै राज्य प्राप्ति हुन्छ भनेर देवीभागवतमा बताइएको छ।

देवीभागवतमा उल्लेख छ, ‘कामदं मोक्षदं नृणां ज्ञानदं दुःख नाशनम्।’

अर्थात् मानिसले चिताएको पुग्ने, ज्ञान र मोक्ष प्राप्त गर्नुका साथै सम्पूर्ण दुःख नाश हुने बताइएको छ। त्यस्तै, मार्कण्डेय पुराणमा मधुकैटभ, महिषासुर, उसका सेना, धुम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज र अन्त्यमा निशुम्भशुम्भ नाम गरेका दैत्यमाथि देवीले विजय प्राप्त गरेको उल्लेख छ।

तसर्थ मानिसले मनमा रहेको आसुरी भाव नष्ट गरी तत्वज्ञान प्राप्त गर्न पनि दुर्गा भवानीको पूजाआराधना गर्नुपर्ने मान्यता हो। मार्कण्डेय पुराण अनुसार देवी दुर्गा सबै प्राणीमा बुद्धि, निद्रा, भोक, छाया, शक्ति, तृष्णा, क्षमा, जाति, कान्ति, लज्जा, शान्ति, श्रद्धा, लक्ष्मी, वृत्ति, स्मृति, दया, मातृ, तुष्टि, भ्रान्ति आदि रूपमा रहन्छिन्। मार्कण्डेय पुराणमा भनिएको छ, ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।’ अर्थात्, वेदमा बताइएकी सतरूपा आदिशक्ति नै देवी दुर्गा हुन् र उनैबाट संसारको सृष्टि भएको हो।

विजयादशमी

यस दिन त्रेता युगमा नारदमुनिको उपदेशले मर्यादा पुरुषोत्तम श्रीरामले रावणको अन्त्य गरेको तथा देवी भगवतीले महिषासुरको वध गरेको धार्मिक मान्यता छ। श्रीरामले सबैभन्दा पहिला समुद्र किनारमा नौ दिनसम्म अलगअलग रूपमा नवदुर्गाको पूजा गरेको र दशौं दिन रावणमाथि विजय प्राप्त गरी हर्षोल्लासका साथ विजयोत्सव मनाएकाले विजयादशमी भनी मनाउन थालिएको परम्परा रहेको पण्डित बलराम सिग्देल बताउँछन्। दशमी तिथिमा शुभ साइत हेरी मान्यजनबाट दहीअक्षताको टीकाग्रहण र जमरा लगाउने चलन छ। टीकासँगै छोरीचेली लगायतलाई दक्षिणा दिइन्छ।

त्यस्तै, बडादशैँमा आफन्तहरु जम्मा भई लिंगे पिङ, रोटे पिङ तथा चाकाचुली खेल्ने, मीठोमसिनो खाने, राम्रो लगाउने गरिन्छ। टीका लगाइदिँदा छोरा मान्छेलाई र छोरीमान्छेलाई भन्ने मन्त्र पनि फरक छन्। छोरा मान्छेका लागि मन्त्र ः

‘आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।
स्वस्त्यस्तुते कुशलमस्तु चिरायुरस्तु
गोवाजिहस्तिधनधान्य समृद्धिरस्तु।
ऐश्वर्यमस्तु बलमस्तु रिपुक्षयोस्तु।
सन्तान वृद्धिसहिता हरिभक्तिरस्तु।’

अर्थात्, द्रोणपुत्र अश्वत्थामाको जस्तो आयु, दशरथ महाराजको जस्तो सम्पत्ति, रामचन्द्रको जस्तो शत्रुनाश, नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो सम्मान, भीष्मपितामहको जस्तो शूरता, हलोधारी बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्य, विदुरको जस्तो विज्ञान र नारायणको जस्तो कीर्ति तपाईंको पनि होस्। साथै तपाईंको चिरायु र कल्याण होस्, गाई–हात्ती–घोडा र धनधान्य वा सम्पत्ति बढोस्, ऐश्वर्य होस्, बल होस्, सन्तान वृद्धि होस् र भगवान्मा भक्ति बढोस्।

छोरीमान्छेलाई भनिने मन्त्र
‘भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसीदतु
रक्षतु त्वां सदादेवी आशिषः सन्तु सर्वदा।
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।’

अर्थात्, भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भगवती प्रशन्न रहून्, सधैं देवीहरूले तपाईंको रक्षा गरून्। साथै जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा, धात्री, स्वाहा, स्वधाआदि नामले प्रसिद्ध हे जगदम्बिके, हजुरलाई मेरो नमस्कार छ। देवी चामुण्डे हजुरको जय होस्। सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी कालरात्रि हजुरलाई नमस्कार छ। यसरी छोरीमान्छेलाई दुर्गाकै रूप मानेर सम्मानपूर्वक आशीर्वचन प्रदान गरिँदै आएको छ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top